काठमाडौं । बजारमा प्रायः जुनै मौसममा पाइने तरकारी हो मुला । मुला सलाद र सौन्दर्यमा पनि उपायोगी हुन्छ । यो बहुउपयोगी गुणकारी तरकारीको जुस बनाएर पिएमा यसको लाभ दोब्बर हुन्छ ।
मुलाको रसमा क्याल्सियम, पोटोसियम, जिंक, कपर, फोलेट जस्ता पोषक तत्व पाइन्छ । साथै भिटामिन ए, सी र बी-६ पनि पाइन्छ । जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी शोषित हुन पाउँछ । यसरी मुलाको जुस सेवन गर्नुको फाइदा यस प्रकार छन्;
मुलाको रस सेवन गर्दा मुत्राशय, मिर्गौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध पार्दै हानिकारक विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । मुलाको जुस पित्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ । फिफलोमाइल्जी जस्ता फंगल रोगको उपचारमा समेत मुलाको रस उपयोगी हुन्छ ।
कब्जियतका समस्या भएकाहरुमा मुलाको रस निकै उपयोगी हुन्छ । यसले पित्तको प्रवाहलाई नियन्त्रित गर्दछ साथै पाचन क्षमता बढाउँछ । मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी गुणले मूत्र नली सफा गर्दछ । मुलाको रसको सेवनले मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ ।
नियमित मुलाको रस सेवन गरे मिर्गौलामा पत्थरी हुने समस्या हुँदैन । मुलाको रस अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्यामा समेत उपयोगी हुन्छ । मुलाको रसमा हुने फस्फोरस, भिटामिन ए र सी लगायतले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।