बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले नेपालका लागि विकास नीति सहायता अन्तरगत ८० मिलियन अमेरिकी डलर अर्थात् १० अर्ब ६८ करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले सोमबार नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउनको लागि उक्त रकम स्वीकृत गरेको हो।
उक्त रकमबाट वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ। यस सञ्चालनले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ । यसका साथै यसले पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिनेछ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले यस परियोजनाबाट नेपालको हरित, लचिलो र समावेशी विकासमा टेवा पुग्ने र आर्थिक वृद्धिमा योगदान पुर्याउन निजी लगानीका लागि सक्षम वातावरण सृजना गर्न मद्दत गर्ने बताएका छन् ।
त्यस्तै उक्त परियोजनाका लागि विश्व बैंकको कार्य टोली प्रमुख तात्सियाना क्लियात्स्कोभाले नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने बताइन् । विश्व बंैक नेपालको प्रमुख दातृ निकाय हो । वन, कृषि, परियोजना निर्माण र रोजगारी सृजना लगायतका क्षेत्रमा विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिंदै आएको छ । एजेन्सी