दोलखाको भीमेश्वर-१ सुष्पाक्षमावतिबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्करमा बिहेको जन्ती बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ दोलखाका अन्दाजी ७० वर्षीय मान बहादुर थामी, सोही वडाका अन्दाजी वर्ष १६ का शिव श्रेष्ठ र भीनपा-१ कै अन्दाजी १७ वर्षीय दिपेन्द्र थामीको घटनास्थलमा मृत्यु भएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए ।
उनका अनुसार घाइते ५२ जनामध्ये सामान्य घाइते २३ जनाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार भइरहेको छ भने बाँकी २९ जनाको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । सिन्धु सदाबहार अस्पतालका अनुसार गम्भीर घाइते भएका बिरामीहरुको पहिचान भइरहेको र उनीहरुलाई काठमाडौं पठाइने तयारी भइरहेको छ ।
शुक्रबार बिहान ३ बजे दोलखाको सुस्पा क्षमावतीबाट स्थानीय शुसिल थामीको विवाहका लागि जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्करतर्फ हिँडेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको तौथली नजिकै धरावतिमा दुर्घटना भएको थियो ।
बस सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरन्जन भट्टराईले बताए । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।