दयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् । उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा- १४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।
त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरू आइतबार दिउँसो होली खेलेर सुनकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । पाँच जना बालबालिका सुनकोसीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना चाहिँ निक्लन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोसीमा बेपत्ता भएका बालबालिकाको खोजी जारी राखेको जानकारी दिएका छन् ।
सुनकोसीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनिहरूलाई फेला पार्न नसकेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको थापाको भनाइ छ ।