काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
९० स्थानमा चेकिङ, ९०० ट्राफिक परिचालन
रंगहरुको पर्व (होली)लाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले आज आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्दैछ ।
जसका लागि ९०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ ।
दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक र गल्लीमासमेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो ।