हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्दछ भन्ने थाहा छ तर कति टुथपेस्ट प्रयोग गर्ने भन्ने विषयका बारेमा हामी जानकार छैनौ ।धेरै टुथपेस्ट राखेर दाँत माझियो भने सफा हुन्छ होला भन्ने मानसिकता हामीमा छ । तर अध्ययनका अनुसार तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा मटरको दाना जति टुथपेस्ट मात्रै हाल्नुपर्छ ।
दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ । दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लोओरोसिस हुन सक्छ ।टुथपेस्टमा फ्लोराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ । तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ ।
साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह दिइन्छ किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो । दाँतमा त्यसले पनि असर पार्छ । फ्लोओरोसिसको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ ।यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रङ्ग खुइलिन्छ । यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ ।
दिनको दुई चोटि दाँत माझ्नु जरुरी भएको कुरा दन्त चिकित्सक बताउँछन् । पहिलो दाँत आउने बित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ ।प्रायः ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रस गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ । धेरै मानिसमा दाँतको एउटा न एउटा समस्या हुन्छ ।
तर यी तीन सूत्रलाई पालना गरेमा दाँतलाई स्वस्थ राख्न सकिन्छ :
–हरेक दिन आफ्नो मुख र दाँतको अवस्था आफैँ जाँच्ने ।
–दन्त चिकित्सककहाँ नियमित जाने ।
–सरसफाइ र पौष्टिकतामा ध्यान दिने ।