काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीसँग बयान लिने भएको छ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले कांग्रेसबाट प्रतिनिधिसभा सांसदसमेत रहेका उद्योगपति चौधरीसँग बयान लिन लागेको हो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सीआइबीले चौधरीसँग बयान लिने भएको हो।
गृहमन्त्री लामिछानेले आइतबार बिहान प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआइबी प्रमुख श्याम ज्ञवालीलाई बोलाएर चौधरीलाई अनुसन्धान प्रक्रियामा ल्याउन निर्देशन दिएका थिए।
लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन्। गृहमन्त्रीले यो निर्देशन दिइरहँदा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी पनि थिए।त्यो जग्गामा चौधरीले चाँदबाग स्कुल संचालन गर्दै आएका छन्।यो प्रकरणमा गत माघ १८ गते सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेका थिए। उनी अदालतको आदेशमा एक सातापछि रिहा भएका थिए।
विनोद तीन साताअघि व्यावसायिक कामका लागि दुबई जाने योजनामा थिए। व्यावसायिक कामका लागि दुबई जान लागेका विनोदले आफूलाई पक्राउ गर्ने संकेत पाएका थिए। यो संकेतपछि विनोदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समय मागे।
विनोदलाई प्रधानमन्त्रीसँग भेटाउन माओवादी केन्द्रका नेता मातृका यादवले समय मिलाए। त्यो भेटमा विनोदले आफू व्यावसायिक कामका लागि विदेश जान लागेको भन्दै कारवाही बारेमा सोधेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले बाँसबारीको जग्गा हिनामिना प्रकरणमा मुद्दा प्रक्रिया अघि बढिसकेको भन्दै कारवाही रोक्न नसक्ने जनाउ दिएका थिए।
विदेश जाँदा कुनै अवरोध नहोस् भनेर प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका विनोद कारबाही नरोक्ने जनाउ पाएपछि बयान दिन मानसिक रुपमा तयार भएको स्रोतले बतायो।