कुवेतमा तीब्र गतिमा आएको कारले ठक्कर दिंदा तीन नेपाली कामदारको घटनास्थलमै मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा तीब्र गतिमा आएको कारले ठक्कर दिंदा एकै कम्पनीमा कार्यरत तीन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय एक नागरिकले चलाएको कारले ठक्कर दिंदा पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर मृत्यु भएको कुवेतस्थित नेपाली दुतावासले पुष्टि गरेको छ। उनीहरु पापाजोन कम्पनीमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार, कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान शुरु भएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए । गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले तीब्र गतिमा चलाएको कारले ठक्कर दिएको बताइएको छ।
उक्त घटनापश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।