काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।
‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले राजधानीसँग भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’
त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प परेका छन् ।बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् ।
‘अब हामीले यो कम्पनीमा काम गर्न सक्दैनौं किन कि यो कम्पनीले बिरामी पर्दा उपचार नै गर्दैन, अहिले घर फर्कने नेपालीको नामावली संकलन गरेर कम्पनी प्रशासनलाई बुझाउने तयारीमा छौं,’ उनले थपे ।नेपालबाट आउँदा ८ घण्टा २६ दिनको काम गर्नुपर्ने भनेर सम्झौता गरिएको भए पनि यहाँ १२ घण्टासम्म काम लगाउने र यस कम्पनीमा कार्यरत प्रायः सबै नेपाली बिरामी परेको उनले बताए । अहिले उनीहरूले कम्पनीको एचआरसँग पनि कुराकानी गरिरहेको र एचआरले पनि केही समय पर्ख घर जानेजतिलाई पठाउने भनेको उनले बताए ।
नेपाली कामदारको मृत्यु भएपछि जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासले पानी कम्पनीको भिजिट गरेको छ । त्यस कम्पनीमा कार्यरत रहेका नेपालीहरूलाई जबसम्म यो ठाउँबाट बासस्थान सर्दैन तबसम्म काम नगर्नू भनेको उनीहरूले बताए ।दूतावासले अहिले आन्दोलन नगर्नु भनेर कम्पनीसँग एउटा सम्झौता गरेर गएको र दुई हप्तासम्म पर्खिनु भनेको उनीहरूले बताए । त्यसपछि पनि आफूहरूको समस्या समाधान नभए आन्दोलन गर्न दूतावाससमक्ष भनेको उनीहरूले बताएका छन् ।