काठमाडौं । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । युवावर्ग कुलतमा फस्ने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरूपमा बिक्री वितरण र सेवनमा निषेध गरेको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाद्वारा जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
नगरपालिकाको सूचना अवज्ञा गर्नेलाई कानुनअनुसार अधिकतम कारवाही गर्ने नगरपालिकाले जनाएको छ । यसका साथै निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहित गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि नगरपालिकाले जनाएको छ ।