काठमाडौं : राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन्। साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गरेकी हुन्।
सावित्राले ७६औं मिनेटमा गोल गरेकी थिइन्। उनले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काएकी हुन्।बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन्। २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन्। जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन्। उनको नाममा ९ गोल रहेको छ। सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गरिन्। दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गरिन्।
यही खेलमार्फत उनले ५० गोल पूरा गरेकी थिइन्। समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उनले दुई गोल गरेकी थिइन्। उनी वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुन्। साम्बाले साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपअन्तर्गतको फाइनल गुमाउने भएकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएकी हुन्।
क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो।क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाको भनाइ छ।
जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्। सेमिफाइनलमा मंगलबार राति लेवनानलाई नेपालले २-१ ले हराउँदा बराबरी गोल गरेकी थिइन्। साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन्।
अब नेपालले साम्बाबिना बिहीबार जोर्डनविरुद्ध खेल्नेछ। साम्बा भने फ्रेञ्च लिग खेल्न साउदी अरेबियाबाटै फ्रान्स जानेछिन्।