काठमाडौँ — १४ किलो सुन तस्करी प्रकरणमा काठमाडौंका कलेज सञ्चालक पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।
कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ । उनीविरुद्ध संगठित अपराधको कसुरमा समेत छानिबन हुने प्रहरीको भनाइ छ ।
पर्वत स्थायी घर भएका गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार थिए । सुन ल्याउन भरियालाई दुबई पठाउने गोरखाका मीन घले र लमजुङका दनबहादुर गुरुङलाई समेत जीवनकुमारले परिचालन गरेको अनुसन्धानमा सहभागी एक अधिकारीको दाबी छ । नेताहरूसँग उठबसमा रहेका जीवनकुमार गुरुङ सुन लिन दुबई पठाउने, सुन ल्याउने, ल्याएको सुन नेपाल हुँदै दिल्लीसम्म पुर्याउने योजनामा सहभागी भएको आशंकासमेत छ ।
गत मंसिर २१ गते भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । प्रहरी थुनामा राखिएको बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रिएका थिए ।