काठमाडौँ । विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा क्रसफायर बाइकको मूल्य भने घटेको छ । नेपालका लागि क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले क्रसफायर आरएम २५० को मूल्य एकै पटक ४४ हजार रुपैयाँले घटाएको छ ।
क्रसफायर आरएम २५० रेस एडिसनको मूल्य अब ७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यसको मूल्य ८ लाख ४३ हजार रुपैयाँ तोकिएको थियो । अझ रोचक तथ्य के छ भने गत जेठ महिनामा पनि यसको मूल्य ४५ हजार रुपैयाँले घटाइएको थियो । यो भन्दा पहिले यसको मूल्य ८ लाख ८८ हजार रुपैयाँ थियो । सरकारले यी मोटरसाइकलमा घटाएको करका कारण मूल्यमा कमी गरिएको थियो ।
डर्ट र मोटार्ड दुवै भर्सनमा उपलब्ध सो बाइक डर्ट बाइक राइडरहरुको चाहनालाई पुरा गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको बताइएको छ । यसमा भएको डबल एक्जस्ट र पावर डेलिभरीका कारण यसलाई ट्रयाक, हाइवे र अन्य सबै स्थानमा चलाउन सकिने कम्पनीको भनाइ छ ।
३३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल भने ११० किलोग्राम मात्र छ । अघिल्लो भागमा २९० एमएम र पछिल्लो भागमा २४० एमएमको डिस्क ब्रेक छ । नेपाली बजारमा होन्डा एक्सआर १९०एल र क्रसएक्स २५०आर बाइकसँग यसको प्रतिस्पर्धा हुन्छ । यी दुई बाइकको मूल्य क्रमशः ७ लाख ७० हजार र ८ लाख ४५ हजार रुपैयाँ छ ।
यति हुँदा पनि यो नेपाली बजारमा उपलब्ध क्रसफायरको सबैभन्दा महंगो मोटरसाइकल हो । हाल नेपाली बजारमा क्रसफायरका यो वाहेक अन्य दुई मोडल ट्रेकर २५० र एचजे २५० उपलब्ध छन् । ट्रेकर २५० को मूल्य पहिले ४ लाख १० हजार भएकोमा अब ३ लाख ७० हजार मात्र भएको छ भने एचजे २५० को मूल्य भने ६ लाख ९९ हजार रुपैयाँ नै तोकिएको छ ।
सबै मोडलमा क्रसफायरद्वारा प्रवर्धन गरिएका रेसिङ कम्पोनेन्ट अर्थात सीआरसी प्रयोग गरिएकाले मूल्य घटाउन सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट बाइक अझै हल्का र चलाउन सहज भएका छन् भने गुणस्तरीय समेत बनेको कम्पनीको दावी छ ।