काठमाडौँ– मोबाइल हरेकको हातमा छ । सस्तो होस् या महँगो मोबाइल अहिले मानिसको नजिकको साथी नै बनिसकेको छ । भननै पर्दा मोबाइलले खाना र सुत्न पनि बिर्स्याउन थालिसकेको छ ।पछिल्लो समय मोबाइल नै छोरा छोरी परिवार र आफन्त पनि भएको छ । मोबाइल बिना मानिसहरू दिनै खल्लो जस्तो मान्ने गर्छन् । मोबाइल खाना खाँदा देखि ट्वाइलेटमा बस्दा सम्म चलाउने साधन बनिसकेको छ ।
राति अबेरसम्म र लामो समय मोबाइल फोन चलाउँदा स्वास्थ्यमा असर पर्छ भन्ने त हरेकलाई थाह छ तर पनि मोबाइल फोन चलाउन भने कम हुँदैन ।बिहान उठ्ने बित्तिकै मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ ।
यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना हुन्छ । उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ ।
रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ ।
मोबाइलको स्क्रिनले आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । मोबाइलको लतले कृत्रिम दुनियाँमा रमाउने बानी हुँदा वास्तविक जीवनसँग निराशा जाग्न सक्छ र डिप्रेसनमा जाने जोखिम हुने चिकित्सकहरू बताउँछन् ।
आत्मविश्वासमा कमी आउनु, कसैसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्नु र अनिद्रा तथा माइग्रेनका समस्या पनि हुन सक्छ ।लामो समयसम्म सरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुने चिकित्सकहरु बताउछन् ।