जाजरकोट कुसे गाउँपालिका–४ का कृष्ण शाही बिरामीको रोग निको पार्ने डाक्टर बन्ने बाटोमा अडि बढिरहेका थिए ।समयले साथ दिएको भए करिब ३ वर्षपछि कृष्ण डाक्टर बन्ने निश्चित थियो ।
तर अब उनको यो इच्छा कहिल्यै पूरा नहुने भएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्ष अध्ययरत शाही संसारबाट विदा भएका छन् । रक्त क्यान्सरबाट पीडित उनको बिहीबार मृत्यु भएको हो।
ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा शाहीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
शाहीपूर्ण छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढिरहेका थिए। करिब ६ महिना पहिला स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्ने क्रममा रक्त क्यान्सर(एक्चुअल लिम्फोब्लास्टिक ल्यूकेमिया) देखियो।
नेपालको विभिन्न अस्पतालमा कृष्णको उपचार भयो । उनले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा रिसर्च सेन्टरमा उपचार गराइरहेका थिए। उनलाई बचाउनका लागि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको थियो।
आर्मी कलेजका विद्यार्थी र विभिन्न व्यक्तिहरुको सहयोगमा उनको उपचार भइरहेको थियो। खर्च अभावले बोनम्यारो प्रत्यारोपण गर्न नपाएको भन्दै कृष्ण र उनको परिवार हार–गुहार गर्दै हिँडिरहेको थियो।
प्रत्यारोपणका लागि करिब ५० लाख भारु लाग्ने अनुमान राजीव गान्धी क्यान्सर इन्स्टिच्युट निकालेको थियो।