वीरगञ्ज । प्रहरीले सामाजिक सञ्जाल फेसबूक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लन्न दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार फेसबुक पेजहरूमा आईफोन मोबाइलहरू सस्तोमा बिक्रीमा राखी निवेदकहरूसँग अनलाइनमा कुराकानी गरी अग्रिम दश प्रतिशत दिएपछि बाँकी रकम किस्ता–किस्तामा तिर्न मिल्छ भनी झुट्टा विज्ञापन राखेर पीडितको रकम ठगी गर्ने गरेको पाइएको छ ।
पीडितलाई डेलिभरीको सामान आइपुगेको र यसका लागि कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्छ साथै वैदेशिक रोजगारको विज्ञापन राखी पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैङ्क खातामा जम्मा दश लाख ३९ हजार रुपैयाँ रकम पठाउन लगाइ ठगी गर्ने स्थायी घर पर्साका ३३ वर्षीय अफताब आलम र महोत्तरीका २७ वर्षीय विनय शाहलाई प्रहरीले पक्राउ गरेको छ
उनीहरूलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।