काठमाडौँ / नेपाल टेलिकमले चालू आव २०८०/८१ को पहिलो त्रैमासिकमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १९ करोड ८० लाख ७४ हजार रुपैयाँ अर्थात ८.९० प्रतिशतले घटेको हो ।
त्यस्तै, पहिलो त्रैमासमा कम्पनीको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको तुलनामा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँ अर्थात् ३.५४ प्रतिशत कम हो ।
गत आवको समीक्षा अवधिमा कम्पनीको कूल आय ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ रहेको थियो । यसैगरी असोज मसान्तसम्म कम्पनीको सञ्चालन आय ४९ करोड २५ लाख २१ हजार रुपैयाँ अर्थात, ५.४३ प्रतिशतले घटेको छ ।
गत आवको असोज मसान्तसम्म ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँ सञ्चालन आय रहेकोमा यस बर्ष सोही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ सञ्चालन आय आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५ पैसा रहेको छ ।
किन घट्यो कम्पनीको नाफा ?
गत आवको पहिलो त्रैमासिकको तुलनामा समीक्षा अवधिमा ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजारले कमी आएको कारण कम्पनीको नाफामा गिरावट आएको टेलिकमले जनाएको छ ।
त्यस्तै, आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रूपमा कमी आउनु तथा विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण ५ करोड ९९ लाख रुपैयाँ फोरेन एक्सचेन्ज गेन भएको कारण नाफामा परिवर्तन भएको कम्पनीको भनाइ छ ।
प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीको भनाइ छ ।
सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर पर्नु र बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १४ करोड ८१ लाख रुपैयाँले कमी आएको टेलिकमले जनाएको छ ।