काभ्रे पाँचखाल / क्यान्सरको उपचारमा रु १७ लाख रुपैयाँ गुमाएका पाँचखाल नगरपालिका –८,चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई बचाउन नेपाली कांग्रेस क्षेत्र नं २ (१) का सभापति हेमकुमार तामाङले क्यान्सर पीडिको लागि १ लाख रुपैयाँ सहयोग जुटाएका छन् । पिडितको परिवारले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको छ ।
मुखको क्यानसरले थलिएका उमेश तामाङलाई कांग्रेस नेता एंव समाजसेवी तामाङको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।तामाङले पाँचखाल वडा नं ८ का अध्यक्ष रहेका कांग्रेस नगर सभापति सञ्जय तामाङको रहोवरमा सहयोग हस्तान्तरण गरे । क्षेत्रीय सभापति तामाङले यस्ता प्राणघातक रोगको सरकार आफैले उपचार गर्नुपर्ने भन्दै पीडितलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
आर्थिक रुपमा निर्धन र असहाय उनी थप उपचारका लागि सहयोगको याचना गरिरहेका छन् । आर्थिक स्थिती कमजोर रहेका उमेशको सहयोगको लागि हेमले न्युयोर्कमा रहेका आफ्ना साथीहरुलाई जानकारी गराएपछि त्यहाँको मामा–भाञ्जा ग्रुपका दावा लामा,पुस्कर थोकर,अशोक योन्जन,जोन लामा र न्यु हेमेस्पियर नेपाल कम्युनिटी सोसाइटीका मिङमार शेर्पाको पहलमा अमेरिकामा सहयोग संकलन भएको थियो ।
३ पटक शल्यक्रिया गर्दा १७ लाख रुपैयाँ सकिएको र आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको उमेशका दाजु दिनेशले बताए । आम्दानीको कुनै बाटो नभएकाले उनका परिवारले सवैसँग सहयोगको याचना गरेका हुन् । उमेशको उपचारको लागि संघीय सरकारबाट १ लाख, बाग्मती प्रदेशबाट ५० हजार र पाँचखाल नगरपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।क्यान्सरसँग लडिरहनुभएको उमेशलाई बचाउनका लागि आर्थिक सहयोग गरिदिनु हुन देश–विदेशमा भएका सम्पूर्ण नेपालीमा अपिल गर्दछु” ।