काठमाण्डु, १५ असोज– डाक्टरहरुले गौशाला प्रहरी चौकी घेराउ गरेका छन् ।
एकपछि अर्को गरी चिकित्सकमाथि आक्रमणका घटना बढेपछि उनीहरु काम छाडेर आन्दोलित भएका हुन् । वर्षात भए पनि छाता ओढेर चिकित्सकले चौकी अगाडि प्रदर्शन गरिरहेका छन् ।
आइतबार सिनामंगलस्थित काठमाण्डु मेडिकल केलज (केएमसी) अस्पतालका चिकित्सक मनिष खड्कामाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।
शनिबार राति मात्र सरकारसँग ६ बुँदे सहमति गरेर चिकित्सक काममा फर्किएका थिए । चिकित्सकहरुले एकपछि अर्को गरी कार्यस्थलमा आक्रमण हुँदासमेत सरकारले सुरक्षा प्रत्याभूति दिलाउन र दोषीमाथि कारबाही गर्न नसकेको भन्दै चिकित्सक फेरि आन्दोलित भएका हुन् ।
डा. खड्कामाथि कुटपिटमा संलगन दुई जनालाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई हाल काठमाण्डु बस्ने ३४ वर्षीय सरोज गौतम र रुपक गौतम छन् ।
खड्काले ओपिडीमा भिडभाड नगरी लाइन बसेर सेवा लिन आग्रह गरेपछि बिरामी लिएर गएका गौतमद्वयले उनीमाथि कुटपिट गरेका थिए ।