पोखरा, भदौ ६। पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् ।जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो ।
७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् ।चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।उनको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।
जापानको फुकुओकामा अध्ययनका लागि पुगेकी नेपाली युवतीले आत्महत्या गरेकी छन् । दोलखा घर भएकी रबिना बुढाथोकीले आफ्नो परिवारसँग भिडियो कल गर्दै मृत्युको बाटो रोजेकी हुन् । २० वर्षकी रबिना गत वर्षमात्र विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।
सोमबार साँझ यहाँ परिवारसँग भिडियो कलमा कुरा हुँदाहुँदै आफ्नै कोठामा झुण्डिएपछि परिवारले उनको उद्धारका लागि नजिका साथीहरुसँग अनुरोध गरेका थिए ।
घटनाबारे थाह पाए पश्चात् फुकुओकामा रहेका नेपालीहरु मार्फत तुरुन्त उद्धारको प्रयास गरिएको थियो । प्रहरी तुरुन्त घटनास्थल पुगेपनि कोठाको ढोकामा चुकुल लगाईएको कारण उद्धारमा ढिलाई हुन पुगेको थियो । ढोका फोडेर अस्पताल लगिएकोमा चिकित्सकले बिहान मात्रै मृत घोषणा गरेको खबर छ ।
घरबाट टाढा रहेका किशोरकिशोरीलाई मानसिक स्वस्थता जरुरी देखिएकाे छ । अध्ययनका लागि विदेश गएका युवायुवतीहरू डिप्रेशनमा पुग्ने, आत्महत्या गर्ने घटनाहरू बढेकाे भन्दै यसका लागि पारिवारिक दबाब हुन नहुने, बुझेर मात्र विदेश जाने सुझाव सल्लाहहरू यस क्षेत्रमा जानकारहरूले दिएका छन् ।