क्यानडाको नागरिकता लिएको भनेर बलिउड अभिनेता अक्षय कुमारको भारतमा आलोचना भइरहन्थ्यो । यसै साता उनले भारतको नागरिकता सार्वजनिक गरेका छन् । ५५ वर्षे अभिनेताले लेखेका छन्- मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना ।’
किन लिए उनले क्यानडाको नागरिकता ?
९० को दशकमा उनको फिल्मी करिअर धरापमा थियो । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, त्यो बेला उनका लगातार १५ फिल्म फ्लप भएका थिए । हालत सुध्रिने छाँटकाँट नदेखेपछि अक्षयले क्यानडाको नागरिकताका लागि आवेदन दिए ।सन् २०१९ को लोकसभा चुनावमा उनले मतदान नगरेपछि उनको नागरिकतालाई लिएर सोसल मिडियामा चियोचर्चा सुरु भएको थियो ।
जब प्रधानमन्त्री मोदीको अन्तर्वार्ता लिए
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अक्षयले एक अन्तर्वाता गरे, जुन २४ अप्रिल २०१९ मा सार्वजनिक गरिएको थियो । भारतका धेरैजसो समाचार च्यानलमा ६७ मिनेटको उक्त अन्तर्वार्ता प्रसारण गरिएको थियो ।
प्रधानमन्त्री निवासमा भएको अन्तर्वार्तामा अक्षयले मोदीसँग उनको दिनचर्या, खानपान, बानी, रुचि र बालापनका किस्सासम्बन्धी प्रश्न सोधेका थिए । उनले यसलाई गैरराजनीतिक अन्तर्वार्ता भनेका थिए । मोदीले पनि चुनावको बेला गैरराजनीतिक साक्षात्कार दिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
सोसल मिडियामा यो अन्तर्वार्ता ट्रेन्ड टप ट्रेन्डमा थियो । त्यो बेला पनि अक्षय कुमारको नागरिकतालाई लिएर प्रश्न उठेको थियो । धेरैले भनेका थिए, प्रधानमन्त्री मोदीले बलिउडमा काम गर्ने भारतीय मूलका एक क्यानेडियन नागरिकलाई अन्तर्वार्ता दिए ।
अनि भारतीय नागरिकताका लागि आवेदन
सन् २०१९ मा एक सार्वजनिक कार्यक्रममा अक्षय कुमारले भारतीय पासपोर्टका लागि आवेदन दिएको बताएका थिए । हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा उनले आफ्नो भारतीयता सावित गर्नलाई कुनै डकुमेन्ट चाहिने कुरा आफूले कहिल्यै नसोचेको बताएका थिए ।
अक्षय कुमारले भनेका छन्, ‘१४ फिल्म असफल भएपछि मैले अरु नै केही अँगाल्नुपर्नेजस्तो लाग्यो । क्यानडामा बस्ने मेरा नजिकको मित्रले पनि क्यानडा नै आउन भन्यो । हामी सबै कुरा मिलेर गरौँला भनेको थियो उसले । ऊ पनि भारतीय नै हो, उतै बस्छ । यता मेरो करिअर समाप्त भएको ठानेर मैले क्यानडाको पासपोर्ट लिएँ । त्यही बेला मेरो १५औँ फिल्म हिट भइदियो । त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । म अघि बढ्दै गएँ । र, मलाई कहिल्यै यस्तो लागेन कि मैले आफ्नो पासपोर्ट बदल्नुपर्छ ।’
तर नागरिकता विवाद भएपछि उनले भारतीय पासपोर्टका लागि आवेदन दिने निर्णय लिए । अक्षयले सोही इभेन्टमा भने, ‘मैले यसका लागि आवेदन गरेँ । किनकि मानिसहरूले यसलाई मुद्दा बनाएका थिए, मैले आफ्नो भारतीयता साबित गर्न पोसपोर्ट देखाउनैपर्छ भन्ने लाग्यो । यस्तो कुराले निकै चोट दिने रहेछ ।’
‘हिरो’ अक्षयको सुरुवाती कथा
काश्मिरी आमा र पञ्जाबी बुवाको घरमा ९ सेप्टेम्बर १९६७ मा जन्मेका राजीव भाटियाले एक दिन आफूलाई गाली गरेपछि बुबालाई रिसैरिसमा भनेका थिए- ‘कि पढ्छु कि हिरो बन्छु ।’
राजीव भाटियाले केही वर्षभित्रै रिसले भनेको कुरालाई ‘अक्षय कुमार’ बनेर साबित गरिदिए । राजीवका बुवा हरि ओम भाटिया पहिले आर्मीमा थिए । पछि अकाउन्टेन्टका रूपमा जागिर गर्न थाले । केही समयपछि भाटिया परिवार दिल्लीबाट मुम्बई सर्यो । राजीवको सरुवा माटुङ्गास्थित डन बोस्को स्कुलमा गराइयो ।
राजीव भाटिया खेलकुदमा निकै मन लगाउँथे । छिमेकी केटाहरूले कराँते खेलेको देखेर यसमा पनि उनको रुचि बढ्यो । दशौँ कक्षाको पढाइ पूरा गरेलगत्तै बुबासित जिद्दी गरेर उनी मार्सल आर्ट सिक्न बैंकक गए । त्यहाँ उनले ब्ल्याक बेल्ट पाए ।५ वर्षपछि कोलकाता–ढाकामा ट्राभल एजेन्ट, होटलको काम गर्दै उनी दिल्ली पुगे । केही समय लाजपत रोय मार्केटबाट कन्दनको ज्वेलरी किनेर मुम्बईमा बेच्ने काम गरे ।
अनि अक्षय कुमार बने
तर, उनको मनले फेरि मार्सल आर्ट्सतिरै तान्यो । अब उनले बच्चाहरूलाई मार्सल आर्ट सिकाउन थाले । त्यो बेला उनको मासिक कमाइ करिब ४ हजार रुपैयाँ थियो ।
राज्यसभा टीभीलाई दिएको अन्तर्वार्ताअनुसार, कसैको सल्लाहमा राजीव भाटिया मोडलिङको पोखरीमा हाम फालेका थिए । फर्निचर पसलमा भएको पहिलो फोटोसुटका लागि राजीवले २१ हजार रुपैयाँको चेक पाए । राजीवले यो कामबाट मिलेको चेक त पाए तर त्यसमा लेखिएको नाम भने जाँच गरेनन् । त्यसपछि उनले राजीव भाटिया नामलाई बदलेर अक्षय कुमार राखे ।
संयोग के भने, नाम बदलेको भोलिपल्टै अक्षयले मुख्य हिरोका रूपमा पहिलो फिल्म पाए । यो फिल्म थियो सन् १९९१ को ‘सौगन्ध ।’ यद्यपि, यसअघि उनले फिल्म ‘आज’ मा छोटो भूमिका निभाएका थिए ।