प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्दा माओवादीका दुई जना मन्त्री रेड जोनमा परेका छन् ।दाहालले जनमत पार्टीलाई सरकारमा सहभागि गराउने र आफ्नो पार्टीका दुई मन्त्रीलाई घर फिर्ता पठाउने तयारी गरेका छन् । पछिल्लो निर्णय अनुसार पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दुवै विदा हुने भएका छन् ।
यसअघि एकजनालाई मात्र हटाउने तयारी भएपनि अन्तिम समयमा दुवैलाई हटाउने निश्चित जस्तै बालुवाटार स्रोतले जनाएको छ ।दुवैको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको हो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल सुरूदेखि नै सन्तुष्ट छैनन् ।
मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोपसमेत माओवादीभित्रबाटै लागेको छ ।किराती पनि कामभन्दा हल्ला बढी गर्ने र स्टन्टबाजीमा व्यस्त भएको निस्कर्ष बालुवाटारको छ। निर्देशन र स्पष्टीकरणमात्र सोध्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति उनमा देखिएपछि दाहालले उनलाई पनि हटाउने तयारी गरेका हुन ।
दुई जनालाई हटाएपछि एउटा मन्त्रालय जनमतलाई दिने र अर्को मन्त्रालयमा माओवादीबाट स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउने तयारी रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।नुवाकोट १ बाट निर्वाचित तामाङलाई मन्त्री बनाउन दाहाललाई दबाब थियो । उनी ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायक तथा युवा खेलकुदमन्त्री समेत भएका थिए । उनलाई शहरी विकास मन्त्रालयको जिम्मा दिन लागिएको स्रोत बताउँछ ।
जनमत पार्टीले पर्यटनमन्त्रालयमा दाबी गरिरहेकाले कांग्रेसकी सीता गुरुङलाई पर्यटनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्ने तयारी छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । संदेशपत्र संग कुरा गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।
‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।