सशस्त्र प्रहरी बलले काठमाडौंबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका- ५ गोलढुङ्गा नगिनी खोला आगडि बाट मंगलबार साँझ सशस्त्र प्रहरीले नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उक्त स्थानमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका- ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालीका- २ का सुवास गुरुङ र रामेछाप गोकुलगंगा गाउँपालिका- १ का मदन दमाईलाई नक्कली नोटसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको कोठाबाट नेपाली रूपैया १ हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको जनाइएको छ ।यसै गरी ४ थान मोबाइल, १० थान सिमकार्ड र २२० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरूलाई बरामद सामानसहित आबश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।