काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १०० किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ ।उक्त गोदाममा विभागको टोलिले शनिबार देखि छापा मरेको हो । अनुसन्धान अधिकारीहरूका अनुसार त्यहाँ ठूल्ठूला सुन पगाल्ने र गलाउने मेसिन फेला परेका छन् । ‘यहाँको अवस्था हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो, यहाँ ठूल्ठूला सुन पगाल्ने मेसिनहरू फेला परेका छन्,’ ती अधिकृतले भने ।
राजश्व अनुसन्धानमा खटिएका सशस्त्रका कर्मचारी, प्रहरी कर्मचारी र राजश्वका अधिकारीहरूले गोदाममा छापा हानेर अहिले सिल गरिएको छ ।गोदाममा सुन जोख्ने ठूलो मेसिन, पगाल्ने हिटरलगायत सामानहरू बरामद गरिएको छ । शनिबार नै विभागले होटल भियानमा छापा हानेर एक जना बेल्जियमका नागरिकलाई पक्राउ गरेको थियो ।
एक क्वीन्टल बढी सुन तस्करी प्रकरणमा सम्बन्ध देखिएको भन्दै राजस्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनामा छापा मारेको छ । त्यसक्रममा विभागले एक जनालाई पक्राउ गरेको छ ।विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको हो ।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो । ब्रेक सुभित्र लुकाएर सुन नेपाल ल्याइएको थियो ।