काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको होटल सञ्चालकले नै हत्या गरेको पाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय विनोद कुँवरले पौडेलको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएकाे बताइएको छ ।
होटेल सञ्चालकसँग विवाद हुँदा आशा र विनोद कुँवरले पौडेललाई मुक्का हानेको र मरणासन्न हुनेगरी छातीमा लात्तीले हानेको जनाएको छ । कुटपिट र मुक्का प्रहारबाट बेहोस भएका पौडेलको पर्दाको कपडाले घाँटी कसेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या भएको देखिएको छ ।
बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो । मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए । एक वर्षअघि भिमगिठे गएका पौडेल सोमबार डिउटीबाट फर्केपछि रेस्टुरेन्टमा खाजा/खान गएको खुलेको छ । मृतक पौडेलका पत्नि र दुई सन्तान छन् ।