नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठाेक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान दुर्घटना भएको हो ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले संदेशपत्र लाई बताइन् ।
पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
मृतक सई पर्वतका स्थानीय हुन् । उनका आफन्त घटनास्थलमा पुग्दै छन् । इलाका प्रहरी कार्यालय भिमगिठेबाट सो होटल १० किलोमिटर पर छ ।घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ७४ किलोमिटरको दुरीमा छ ।