वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि, कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा अल टाइम ब्लकबस्टर, एक ब्लकबस्टर फिल्म पायो । यसको समीक्षा हामी अर्को समाचारमा गरौँला ।
यो बर्ष नेपाली फिल्म क्षेत्रमा केही यस्ता घटनाहरू घटे, जसले वर्षैभरी नै चर्चा पाइराखे । हामीले यो वर्षका केही चर्चित घटनाहरूलाई यहाँ समावेश गर्ने कोशिश गरेका छौंः
१. यो बर्ष नायिका वर्षा सिवाकोटी सर्वाधिक चर्चामा रहिन् । वर्षाले वैशाखको ९ गते अमेरिकामा बस्दै आएका आशिष गेलालसँग बिहे गरिन् । वर्षाको बिहे भएको ६ महिना लगतै डिभोर्सको खबर पनि सार्वजनिक भयो । जसलाई आशिषको दोस्रो बिहेले अझै पुष्टि गर्यो । यसकारण, बिहे गरेको आधा वर्षमै डिभोर्स भएपछि वर्षा सिवाकोटी चर्चामा रहिन् ।
२. यो बर्षको सर्वाधिक चर्चित घटनामा नायिका मिरुना मगर र एक भिक्षुबिचको लफडा पनि पर्दछ । फिल्म ‘कबड्डी ४’ रिलिजको समयमा एक भिक्षुले आफूलाई ब्याड टच गरेको भन्दै मिरुनाले थप्पड हानिन् । यसपछि यो घटना खुबै चर्कियो । पछि भिक्षुले माफी मागेको खबर पनि सार्वजनिक भयो । मिरुनाले भिक्षुलाई विना कारण थप्पड हानेको भन्दै कबड्डी ४ को पोस्टर समेत हलबाट च्यातियो । भिक्षुलाई मिरुनाको उजुरीको आधारमा प्रहरीले २ दिन हिरासतमा समेत राख्यो । यो घटनाले वर्ष भरि नै चर्चा पायो ।
३. यो बर्ष फिल्म ‘संझना विर्सना’ रिलिजको समयमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माका फ्यानहरुले छुट्टाछुट्टै नारबाजी गरेको घटनाले पनि चर्चा पायो । सामाजिक संजालमा पूजाले फ्यानलाई थर्काएको भन्दै केही भिडियो पनि भाइरल बने । जसकाकारण, पूजा र आकाशको सम्बन्धमा आएको तिक्तताको घटनाले फिल्म रिलिजको समयमा खुबै चर्चा पाएको थियो ।
४. फिल्म ‘प्रकाश’ रिलिजको समयमा हलवालाले शो नदिएको भन्दै नायक प्रदीप खड्काले पत्रकार सम्मेलन नै गरेर आगो ओकले । उनले, नेपाली फिल्मलाई शो नदिने हो भने टुँडिखेलमा लगेर फिल्म रिलिज गर्ने चेतावनी नै दिए । यो घटना पनि सर्वाधिक चर्चामा रह्यो ।
५. फिल्म प्रेमगीत ३ रिलिजको समयमा नायक प्रदीप खड्का र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबिचको आरोप प्रत्यारोपले पनि बर्षभरी नै तरंगीत बनाइदियो । प्रदीपले भुवन केसीले आफ्नो फिल्मलाई दुःख दिन खोजेको आरोप लगाए । पछि मिडियामा आएर भुवन केसीले प्रदीप खड्कालाई असफल हिरोको संज्ञा दिए । यी दुइको विवादले पनि गसिप बजारलाई सक्रिय बनाएको थियो ।
६. नायक पल शाहको रिहाई यो बर्षको अर्को चर्चित घटना थियो । गतबर्षको फागुणमा पक्राउ परेका नायक पल शाह यो बर्षको फागुण १५ गते नै छुटे । बर्षभरी नै पलको बिषयमा अदालतले गरेका विभिन्न फैसलाले चर्चामा पाइराख्यो । पल छुट्दा उनको स्वागतमा फ्यानहरुको ठूलो भीड देखियो । पल शाह यो बर्षभर चर्चामा रहे ।
७. फिल्म ‘प्रसाद २’को सुटिङ सुरु हुँदै गर्दा छाडेको भन्दै नायक विपिन कार्की यो बर्ष चर्चामा रहे । फिल्मको सुटिङ सुरु हुने दिनमा नै फिल्म नगर्ने भन्दै हिडेको खबर सार्वजनिक भएपछि विपिन आलोचीत भए । पहिलो पटक फिल्मको छायांकन हुन नसकेपछि निर्माणपक्षले त्यसको केही महिनापछि दोश्रो पटक फिल्मको छायांकन गरेको थियो ।
८. फिल्म ‘प्रसाद २’ रिलिज रोकिएको घटनाले यो बर्षको दुःखद अन्त्य गर्दैछ । अदालतको आदेशपछि शुक्रबारदेखि रिलिज हुनुपर्ने फिल्मको प्रदर्शन रोकियो । प्रहरीले निर्माता सुवास थापाविरुद्ध पक्राउ पुर्जी नै जारी गर्यो ।
९. नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको ब्रेकअपको घटनाले यो बर्षको अन्त्यमा चर्चा पायो । लामो समयदेखि लिभिङ टूगेदरमा रहेका यी दुईको सहमतीमै ब्रेकअप भएको समाचार सार्वजनिक भएपनि धेरै फ्यानका लागि यो खबर दुखलाग्दो बन्न पुग्यो ।
१०. नायिका वर्षा राउत र नायक संजोग कोइरालाको सम्बन्धको खबरले पनि खुबै चर्चा पायो । वर्षाले सामाजिक संजालबाट संजोगसँगको तस्विर हटाएपछि उनीहरूको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भयो । वर्षाले यो विषयमा स्पष्टीकरण दिँदै आफू र संजोगको सम्बन्धमा फाटो आएको तर पछि मिलेको बताइन् । यो घटनाले पनि खुबै चर्चा पायो ।
११. नायक विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएको र पछि निकालिएको घटना पनि चर्चामा रह्यो । विपिनले ‘एनिमल’मा काम गर्ने भन्दै करिब ६ पटक मुम्बई धाएका थिए । तर, पछि उनलाई फिल्मको टिमले निकाल्यो ।
१२. यो बर्ष नेपाली फिल्मका संघसंस्थाको निर्वाचन सर्वाधिक विवादित र आलोचित बन्यो । फिल्म क्षेत्रको संघसंस्थाको निर्वाचनमा स्पष्ट रुपमा राजनीति हाबी भयो । विशेष गरि, कलाकार संघ र चलचित्र निर्देशक समाजको निर्वाचन विवादित बन्न पुग्यो ।