काठमाडौं । चलचित्र ‘बहाब’ भोलिबाट हलहरूमा रिलिज हुँदैछ । सुरक्षा पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।
प्रमोद कँडेल निर्देशित चलचित्रको हिजो पहिलो प्रिमियर गरिएको थियो । जसमा कलाकारदेखि पत्रकार र राजनीतिकर्मीदेखि विद्यार्थीसम्म उपस्थित भएका थिए ।
चलचित्र सुरु हुनासाथ किस सिन आएपछि हलभित्र खल्बली उत्पन्न भयो । प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ देखाइँदा दर्शकले हुटिङ गरेका थिए ।
मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन ।
उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन् । यसअघि निर्माताले पनि यस बारे केही बताएका थिएनन् ।
सुरक्षा नवविवाहित हुन् । बहाब विवाहपछि उनको रिलिज भएको पहिलो चलचित्र हो । यो फिल्मको सुटिङ धेरै पहिला भएको हो । चलचित्रका निर्देशक कँडेल कथाको माग अनुसार यो दृश्य खिचिएको बताउँछन् ।
चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् ।