काठमाडौँ : एकपछि अर्को काण्ड घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ ।
उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको विश्वास घट्ने र मत प्रभावित हुने टीकाटिप्पणी भएको थियो । तर, रास्वपाले ती अनुमानलाई खण्डन गरिदिएको छ ।
नेपाली कांग्रेसको गढ तनहुँमा रास्वपाका उम्मेदवारले पाइरहेको मतले भर्खरै बामे सर्दै गरेको दलप्रति जनताको भरोसा देखिएको हो । तनहुँ– १ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारले पाएको मतले रास्वपाको लोकप्रियता बढेको देखिएको छ ।
पार्टी सभापति रवि लामिछाने उठेको निर्वाचन क्षेत्र चितवन २ मा रास्वपाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेको छ ।
सोमवार ढिला गरी शुरू मतगणनामा रविले अग्रता लिन शुरू गरेका छन् । शुरूमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएकोमा दोस्रो अपडेटमै रविले अग्रता लिन शुरू गरेका छन् ।