काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् । एआईजी ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच समझदारी–पत्र आदान प्रदान समेत भएको छ ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताएका छन् ।
सो कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । ज्ञवालीले आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताएका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिएका छन् ।
काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपियाँ उपलब्ध गराउने सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
सिसिटिभी जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।