पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (स्केल्प) को रक्त सञ्चारलाई राम्रो बनाउँछ । यसले नयाँ कपाल उमार्न मद्दत गर्छ र यसले गर्दा कपाल घना हुन्छ ।
कपालका लागि के फाइदाजनक छ प्याजको रस ? सल्फरबाहेक प्याजमा फोलिक एसिड, भिटामिन सी, पोटासियम र प्रोटिनजस्ता तत्व पाइन्छन् जुन कपालका लागि निकै राम्रो हुन्छन् । यसको अत्यधिक प्रचार प्रसार र हरेक घरमा सहजै पाइने भएका कारण पनि प्याजलाई हेयरकेयरमा प्रयोगको चलन थप बढिरहेको छ । तर के प्याजको रस कपालका सबै समस्या हटाउन सक्षम छ, यस प्रश्नको जवाफ यहाँ दिने कोसिस गरिएको छ ।
कपालमा प्याजको असरमा विज्ञको धारणा: भारतकी कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. मानसी शिरोलिकर भन्छिन्, ‘कपाल केराटिन (एक प्रकारको प्रोटिन) ले बनेको हुन्छ जसमा सल्फर पाइन्छ । प्याजको रस सल्फरले भरपुर हुन्छ । जब यो कपाल र टाउकोको छालामा जान्छ, यसले कपाललाई थप बलियो र घना बनाउनका लागि अतिरिक्त सल्फर प्रदान गर्ने काम गर्छ । सल्फरले कपाल झर्न रोक्छ र कपालको विकासलाई बढाउन मद्दत गर्छ ।’
यस्तै, अर्की छाला विशेषज्ञ डा. आँचल पन्थ भन्छिन्, ‘यसमा कुनै शंका छैन कि एन्टिअक्सिडेन्ट र भारी मात्रामा सल्फर भएका कारण प्याज कपाल बढाउन निकै राम्रो हुन्छ ।’ डा. पन्थले थपिन्, ‘थुप्रै आर्टिकलमा यो दाबी गरिएको छ कि प्याजको रस एलोपेसिया एरिटा भएको अवस्थामा पनि फाइदाजनक हुनसक्छ । एलोपेसिया एरिटा एउटा अटोइम्युन स्थिति हो जसमा केही कोसिकाले कपालको रोम छिद्रलाई हानी पुर्याउँछ । यस्तो भएको खण्डमा टाउकोमा छालामा गोलो–गोलो दाग बन्ने गर्छ र यसमा कपाल उम्रिँदैन । यो हेर्दा पनि निकै नराम्रो हुन्छ । कपाल झर्ने वा कपाल पातलो हुनुको सबैभन्दा साधारण कारण एन्ड्रोजेनेटिक एलोपेसिया हो । एलोपेसिया एरिटा र एन्ड्रोजेनेटिक एलोपेसियामा प्याजको रस प्रभावकारी हुनुको कुनै वैज्ञानिक डाटा उपलब्ध छैन ।’
सावधानीपूर्वक गर्नुहोस् प्यासको रसको प्रयोग: डा. मानसी शिरोलिकरका अनुसार कपाललाई पुनः उमार्नका लागि प्याजको रसको प्रयोग खासै अनुसन्धान गरिएको छैन । एउटा सानो अध्ययनमा पत्ता लागेको छ कि दिनमा दुई पटक टाउकोको छालामा प्याजको रस लगाउँदा केही मानिसको कपाल पलाउन मद्दत मिल्न सक्छ ।
अर्को एउटा शोधमा पनि हामीले देखेका छौँ कि लगभग ७४ प्रतिशत प्रतिशत सहभागिका चार हप्तामा केही कपाल पुनः उम्रिएका थिए जबकी केही हप्तामा लगभग ८७ प्रतिशत मानिसमा पुनः कपाल उम्रिएनन् । विशेष कुरा यो हो कि यी सबै सहभागीमा एलोपेसिया एरिटाको स्थिति थियो । साधारणतया कपाल झर्नु टेलोजन एफ्लुवियम वा एन्ड्रोजेनेटिक एलोपेसियाका कारण बढी हुन्छ । तर यस्तो प्रकारको कपाल झर्ने समस्यामा प्याज कति प्रभावकारी हुनसक्छ, यसबारे हाल कुनै अनुसन्धान गरिएको छैन ।
के प्याजको रसको कुनै फाइदा छ ? यो हप्तामा डा. पन्थले शरीरको घाउ निको पार्नमा प्याजको रसमाथि बढी मात्रमा अनुसन्धान गरिएको छ । कुनै सानो वा ठूलो घाउमा दुई हप्ताभित्र प्याजको रस लगाउँदा घाउ निको हुने र त्यसको दाग छिट्टै ठिक हुन मद्दत मिल्छ ।
कपालमा प्याजको रस प्रयोग गर्ने कि नगर्ने ? यसबारे उनी भन्छिन्, ‘म कसैलाई पनि स्पष्ट रुपमा कुनै विशेषज्ञको परमर्श बिना त्यसको प्रयोग गर्न सल्लाह दिन्नँ । दुर्भाग्यपश मैले यस्ता थुप्रै रोगी पनि देखेको छु जसले प्याजको रस लगाएपछि टाउको चिलाउनेदेखि डर्मेटाइटिस (टाउकोको छाला रातो हुने, सुन्निने) र गम्भीर रुपमा कपाल झर्ने समस्या देखेको छु ।’
डा. पन्थले थपिन्, ‘प्याजको रसले आफैँमा तपाईंको छाला र आँखालाई क्षती पुर्याउन सक्छ । पहिलादेखि नै कुनै समस्यासँग जुधिरहेका व्यक्तिले छालामा प्याजको रस लगाउँदा थप समस्या निम्त्याउन सक्छ । तरपनि तपाईं प्याजको रस प्रयोग गर्न चाहनुहुन्छ भने यसका लागि निश्चित रुपमा एक पटक भए पनि विशेषज्ञको सल्लाह लिनुहोस् ।’