गोरखा, ८ चैत । गोरखा नाम्जुङका अमेरिका निवासी समाजसेवी कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन्।
नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष लामिछाने मंगलबार साँझ टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध उनको मृत्युको कारण भने खुल्न सकेको छैन। मृत्युको कारण पत्ता लगाउन प्रहरीले लामिछानेको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ।
उनी लामो समयदेखि तनाव रहेको निकटस्थहरूले बताएका छन्। उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्दै आएका थिए ।
टेक्ससमा व्यवसाय गरेर बसेका उनी त्यहाँ नेपाली समुदायको सेवामा पनि सक्रिय थिए।