मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।
आइतबार भएको मतदानमा अनेरास्ववियुकी अध्यक्ष पदकी उम्मेदवार मालती रेग्मी ४ मत अन्तरले विजयी भईन् । रेग्मीले ७० मत प्राप्त गरेकी छन् भने नेविसंघको समर्थनमा उम्मेदवार बनेका अनेरास्ववियु क्रान्तिकारीका अनिश कार्कीले ६६ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा अनेरास्ववियुका खगेन्द्र लुईटेल र कोषाध्यक्षमा अनेरास्ववियुकै निर्मला दंगाल विजयी भए । यस्तै उर्लाबारी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ९९० जना विद्यार्थीले मतदान गरेका छन् ।
क्याम्पसमा शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा १३५९ जना मतदाता मध्ये ९९० जनाले मतदान गरेको निर्वाचन प्रमुख हस्तबहादुर भट्टराईले जानकारी दिएका छन् । स्ववियु अध्यक्षमा अनेरास्ववियु नेतृत्वको प्यानलकी प्रिती दाहाल र नेबिसंघका विवेक कार्कीबीच प्रतिष्पर्धा भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।
बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतबार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।