काठमाडौं।
नेपालले युएईलाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको छ । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुँदै ७१ रन मात्र बनायो । उससका लागि आयान खानले २९, अश्वन्त वल्थापाले १४ र कार्तिक मयप्पनले अविजित ११ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रनन जोड्न सकेनन्।
नेपालका लागि ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ७.३ ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिए। उनको यो करियरको उत्कृष्ट प्रदर्शन हो। नेपालबाट एकदिवसीयमा पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि चौथो बलर बनेका छन्। त्यस्तै, सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १/१ विकेट लिए।
त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले।
उनले ११२ बलमा ९ चौकाको मद्दतमा ७७ रनको योगदान दिए। यो उनको आठौं एकदिवसीय अर्धशतक हो। यससँगै रोहितले नयाँ कीर्तिमान बनाएका छन्। उनी नेपालबाट एकदिवसीयमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। रोहितले आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई पछि पारेका छन्।
ज्ञानेन्द्र र आसिफले एकदिवसीयमा समान ७/७ अर्धशतक हिर्काएका छन्। रोहितले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे। आरिफ ४३ रनमा आउट भए। गुलशन झा र दीपेन्द्रसिंह ऐरीले पनि शानदार ब्याटिङ गरे। झाले ३२ बलमा ३ छक्का र २ चौकासहित ३७ रन बनाउँदा दीपेन्द्रले १९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रन जोडे।
भीम सार्कीले २९ रन जोड्दा कुशल भुर्तेल ८ कुशल मल्ल ९, सन्दीप लामिछाने, सोमपाल कामी २/२, आसिफ शेख शून्य रनमा आउट भए। नेपाल एक समय २२/३ को अवस्थामा पुगेको थियो। त्यसपछि चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ अघि बढाएका थिए।
यूएईका लागि जवर फरीद, रोहन मुस्तफा, जहूर खान र आयान खानले २/२ तथा आर्यन लाक्रा र जुनैद सिद्दिकीले १/१ विकेट लिए। यस जितसँगै नेपाल अंक तालिको चौथो स्थानमा उल्किएको छ। अमेरिकालाई पछि पार्दै ३६ अंकका साथ चौथो स्थानमा उल्किएको हो।