काठमाडौँ । अमेरिकाबाट नेपाल पठाएको गेम आइटमको पार्सल हेर्दा प्रहरी चकित भएको छ। उक्त पार्सल खोलेर हेर्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
उक्त पार्सलमा झण्डै ७ किलो गाँजा भेटिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका-३ का फैज आलम र गोरखाको गण्डकी गाउँपालिका- ४ का २३ वर्षीय रुपक अर्याल रहेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ६ केजी ९ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।
ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो।
उक्त पार्सल बुझ्न आउने क्रममा दयानी र आलमलाई पक्राउ गरिएको एसपी जोशीले बताए।
त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ। उक्त पार्सल रिसिभ गर्ने क्रममा अर्याललाई पक्राउ गरिएको उनले बताए।