काठमाडौं– फिल्म ‘२.० छड्के’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि छैठौं दिन क्युएफएक्सबाट उत्रिएको थियो।
फिल्म फ्लप भएपछि पहिलो पटक आफ्नो करिअरमा असफलता व्यहोर्न पुगेका थिए अभिनेता अनमोल केसीले। उनले आफ्नो असफलतालाई स्वीकार गरेका छन्। शुक्रबार एक फेसबुक स्टाटसमार्फत् उनले आफू झनै परिपक्व हुनुपर्ने ठाउँमा चुक्न पुगेको भन्दै दर्शकसँग माफी मागेका छन्।
‘दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ। उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु। २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो। यहाँनिर म चुक्न पुगेँ,’ उनले आत्मसमीक्षा गर्दै लेखेका छन्।
अनमोलले यो समय पनि बितेर जानेछ भन्दै दर्शकहरूलाई आश्वस्त तुल्याउन खोजेका छन्। उनले अब बन्ने दशौं सिनेमाबाट नयाँ सत्रको सुरुवात हुने समेत बताएका छन्।
‘अब नवौंपछिको दशौं सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शुन्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ,’ उनले लेखेका छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहिरहनेछ मेरो कोसिस निरन्तर जारी रहनेछ!’
निगम श्रेष्ठले निर्देशन गरेको फिल्मले जम्मा ३० लाख मात्र कमाइ गरेको थियो।
यस्तो छ अनमोलको आत्मसमीक्षा :
मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत् मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु। ‘२.० छड्के’ मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनुपथ्र्यो। यहाँनिर म चुक्न पुगेँ।
विश्वस्त हुनुस्। यो समय पनि बितेर जानेछ, घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ र भोलिको सुनौलो बिहनी मेरा दर्शकसँग साट्नेछु, दुःखेको घाउहरूमा मह्लम लगाउनेछु।
अब नवौं पछिको दशौं सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शुन्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ। जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहिरहनेछ मेरो कोसिस निरन्तर जारी रहनेछ!
पशुपतिनाथले हामी सबैको कल्याण गर्नुहुनेछ।