काठमाडौं :
कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले
वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् ।
बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन ।
सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ । बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति छ ।
एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ ।
परम्परादेखि बोक्सीको सोच विकास भएको देखिन्छ । हामीलाई धेरै पहिलेदेखि यो सोच आएकाले तत्काल घटाउन कठिन हुन्छ । बोक्सीका नाममा कुटने, पिट्ने, दिसा खुवाउने, अमानवीय व्यवहार गर्ने घटना आजकाल पनि सुनिन्छ ।
यी कुरितीलाई तत्काल हटाउनु पर्छ । लामो समयदेखि मानिसको दिमागमा जरा गाडेकाले बोक्सीप्रथा हटाउन पनि योजनाबद्ध अभियानको जरुरी पर्दछ । मानिसको मनोविज्ञानलाई परिवर्तन गर्नु ठुलो चुनौती हो ।
हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भन्ने चलन छ ।
बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।
मनोवैज्ञानिकरुपमा उपचार गर्ने प्रणाली विभिन्न मुलुकहरुमा अपनाइएको छ । पश्चिमा मुलुकतिर ‘साइकोलोजिकल काउन्सिलिङ’ भनिने यो उपायबारे कतिपय मुलुकमा साइकोथेरोपी, हिलिङ लगायतका नामले चिनिन्छ ।
कतिपय मानिसले भोगेका मनोवैज्ञानिक समस्या बाहिर निकालेर उपचार गर्न सकिन्छ भन्ने मान्यता छ । आजभोलि डान्स, लाफ्टर लगायतका थेरापी पनि प्रचलनमा छन् । जापानतिर रेकीको चलन छ । हामीकहाँ करिब ५ लाख धामी, झाँक्री र हेराउनेहरु छन् । हरेक गाउँमा एक जनाजति उपलब्ध छन् ।
नेपाली समाजमा पहिलेदेखिको चलन हेर्दा कुनै रोग वा कठिनाई भयो कि सहजै समाधानको उपाय भनेको ‘हेराउने’ नै हो । ज्वरो आयो, गाई÷भैसी बिरामी भएपनि जान्नेलाई बोलाएर ‘फुकाउने’ चलन थियो । शहरमै पनि कतिपय माताले महंगो शुल्क लिन्छन् र सेवाग्राहीको लामो लाईन देखिन्छ ।
‘हिलिङ’ गर्ने यो आ–आफ्नै तरिका हो । पानी मन्तरेर खान दिने, खरानी फुकिदिने, चामल हेराएर दिने, पूजा गराउन लगाउने आदि चलन छ । त्यतिबेला एलोप्याथिक उपचार पद्दति थिएन, दक्ष स्वास्थ्यकर्मी पनि नभएकाले यो नै विकल्प थियो ।
यो मनोवैज्ञानिक रुपमा उपचार गर्ने उपाय जस्तो देखिन्थ्यो । कतिपय साना समस्या यस विधिबाट समाधान हुन्थे र मानिसले यस्ता पद्धतिमा झनै विश्वास गर्न थाले ।
धामीहरुले हल्लेर, कुटेर, पन्यूले हिर्काएर पनि उपचार गर्ने चलन छ । उनीहरुले आफ्नो देउता बोलाएर बोक्सी निको पार्छु भन्छन् । उनीहरुले कमजोर बिरामीको शरीरका विभिन्न भागमा तातो पन्यूँले हिर्काउछन् । पानीमा डुबाउने, लुछ्ने आदि पनि गर्छन् ।
कतिपयले उपचारकै क्रममा बोक्सी भनेर नाम किटेर उनीहरुलाई कल्पनै गर्न नसकिने खालको दुव्र्यवहार गर्छन् । यस्ता कुरितीलाई जतिसक्दो हटाउनुपर्छ र यस्ता अमानवीय व्यवहार गर्ने झाँक्रीलाई कानूनी कारवाही गर्नुपर्छ । उपचारका क्रममा यस्तो यातना पाउनेमा महिलाहरु नै बढी छन् । पुरुषहरु त्यति पर्दैनन् ।
रातीको समयमा भूतप्रेत, किचकन्नी आदि देखिएको, डराउन दिएको भन्ने चलन नेपाली समाजमा छ । हाम्रा हिन्दु धर्मग्रन्थहरुले पनि यिनीहरुको अस्तित्व स्वीकारेको छ । परम्पराअनुसार भुतप्रेत हुन्छन् भनेपनि मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकारेको छैन ।
दिवंगत आत्माहरु हाम्रो वरपर डुलिरहेको भन्ने मान्यता राखिन्छ । हाम्रो संस्कारदेखि नै यी कुरा हाम्रो मनसपटलमा ज्यादा बसिरहेका हुन्छन् । कतिपयले विश्वास नै गर्दिन भनेपनि कता कता उनीहरुको मनको कुनामा भूतप्रेत आदि रहेकै हुन्छ ।
तर यथार्थमा मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकार गर्दैन । कतिपय आध्यात्मिक चिन्तकहरुले त प्रेतात्माको अस्तित्व स्वीकार गरेपनि तिनीहरुले मानव तथा समस्त प्राणीजगतलाई कुनै हानी नगर्ने दृष्टान्त दिएका छन् ।
जब हामी निकै डराएका हुन्छौं, तब विभिन्न शंका खेलेर झनै त्रासको वातावरण हुन्छ । हामी दिनको तुलनामा राती बढी डराउने भएकाले अनेकन शंका गरेर अनेक कल्पना गर्न थाल्छौं । हामीले जे कल्पना ग¥यो, दिमागमा त्यो तत्काल देखापर्छ ।
त्यसैले भूतको शंका हुनासाथ हाम्रो मानसपटलमा रहेको भूतको आकृति देखा पर्छ । फेरि हाम्रो पुख्र्यौली संस्कारले भूतको अस्थित्व र स्वरुप सिकाएकै छ । त्यही डरका कारण हामीले राती हिड्दा, कतै देख्दा यस्ता अस्तित्व देखें भनेर मानिसहरु अरुलाई भन्दै हिड्छन् । र अरुले पत्याइदिन्छन् ।
–एजेन्सीको सहयोगमा