विराटनगर । गम्भिर बिरामी भएर अस्पताल लगिएका एक बिरामीको जाँच गर्दा डाक्टर समेत हैरान भएका छन्। डाक्टरले बिरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेको हो।
नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालेका हुन्।
नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए। सिक्री उनको पेटमा थियो।
बकल भने खाना नलीमा अड्किएको थियो। मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ। बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।
नोबेलका शल्य चिकित्सक डा ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बकल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए। उपचारपछि ती युवक घर फर्किएको उनले बताए।