काठमाडौं।
आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ। शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। आसिफले १३० बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन जोड्दा सन्दीपले ५० बलमा ३ चौकासहित नटआउट ३५ रनको योगदान दिए। सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए।
यस्तै, कुशल मल्लले २३, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले ८/८, ज्ञानेन्द्र मल्लले ६, कप्तान रोहित पौडेल र आरिफ शेख १/१ रन बनाउँदा कुशल भुर्तेल शून्य रनमा आउट भए। पीएनजीका कप्तान असद वालाले ३, सेसे बाउ र सेमो कमियाले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन रन बनाएको थियो। उसका लागि टोनी उराले ३९, हिरि हिरिले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, नर्मन भानुआले १४ तथा सेसे बाउ र असद भालाले समान ११/११ रनको योगदान दिए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिए। सोमपाल कामीले पनि १० ओभरमा ३९ रन दिँदै २ विकेट नै हात पारे।
सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडनसहित ३२ रन खर्चिएर १ विकेट लिए। कुशल मल्लले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चिएर १ विकेट लिए। करण केसीले ८ ओभरमा २ मेडनका साथ ३१ रन दिँदै १ विकेट झारे। नेपालले ३ विकेट रनआउटको रूपमा लियो।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो। २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।
नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्ने छ। जितसँगै नेपालको ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ। नेपालको ३० अंक भएको छ। पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ। पीएनजीको ७ अंक रहेको छ।