काठमाडौं । नयाँ आठदलीय गठबन्धनले गत शुक्रबार राष्ट्रपति कांग्रेसलाई दिने सहमति गर्दैगर्दा तीन दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको खबर बाहिरिएको थियो । तर, उक्त अपुष्ट समझदारीको भविष्यलाई लिएर अहिल्यै आशंका उब्जिन थालेको छ ।
बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने सर्वसम्मत निर्णय गरेको थियो । त्यसबाहेक अर्को औपचारिक निर्णय केही भएको छैन । तर, आठ दलको बैठकपछि तीन दल (कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी) को शीर्ष नेतृत्वबीच अनौपचारिक छलफल भयो । सोही छलफलमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने भद्र समझदारी भएको स्रोतको दाबी छ ।
नेकपा एस निकट स्रोतले भन्यो, ‘प्रचण्डपछि प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएपछि नै नेपाल राष्ट्रपतिको दावेदारीबाट पछि हट्नुभएको हो ।’ स्रोतका अनुसार प्रचण्ड अढाई वर्ष, माधव नेपाल १ वर्ष जति र देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने समझदारी भएको छ । तर, अहिले कांग्रेस र माओवादीले भने त्यस्तो सहमतिप्रति अनभिज्ञता प्रकट गर्न थालेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालले भद्र सहमतिबारे पार्टीमा जानकारी गराए पनि अन्य दुई नेताले भने केही सीमित नेतालाई मात्रै बताएको बुझिएको छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आलोपालो प्रधानमन्त्रीको सहमतिबारे पार्टीलाई थाहा नभएको बताए ।
‘तीन नेताहरुबीच त्यस्तो कुराकानी भएको भए बेग्लै कुरा । तर, पार्टीगत तवरमा राष्ट्रपतिभन्दा बाहेक अर्को समझदारी भएको छैन’, उनले भने, ‘अध्यक्षज्यूले पनि त्यस्तो ब्रिफिङ गर्नुभएको छैन ।’
माओवादीका महासचिव देव गुरुङले पनि आलोपालो प्रधानमन्त्रीको सहमतिबारे थाहा नभएको बताए । उनले भने, ‘जसले सहमति भएको हो भनिरहेका छन् उसैलाई सोध्नुहोला । मलाई जानकारी भएन ।’
त्यसो भए प्रचण्ड नै पाँच वर्ष प्रधानमन्त्री रहने माओवादीको बुझाइ हो ? भन्ने प्रश्न गर्दा उनले फोन काटिदिए । यता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको बताए । ‘प्रधानमन्त्रीबारे सहमति भएको होइन’, उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।