काठमाडौं । फिल्म निर्देशक सिमोस सुनुवार यतिबेला टेलिभिजन रियालिटी शोहरुको निर्देशनमा व्यस्त छन् । उनी निर्देशित टीभी शो ‘हिमालय लोकस्टार’ प्रसारण भइरहेको छ भने ‘हिमालय रोडिज’ पनि आउने तयारीमा छ । यस्तोमा उनी केही फिल्म निर्देशनको पनि तयारीमा छन् ।
सुनुवारले निर्देशन गर्ने फिल्म ‘हात्तीछाप’ तत्काल छायांकनमा जाने तयारीमा छ । यसबाहेक उनकै निर्देशनमा भुवन केसीको फिल्म ‘पारस’ छायांकनमा जान सक्ने सम्भावना छ । यसैबीच, उनले २०७४ सालमा रिलिज भएको आफू निर्देशित फिल्म ‘झ्यानाकुटी’को दोस्रो शृंखला आउने तयारी भइरहेको जनाएका छन् ।
अभिनेत्री बेनिशा हमाल र अभिनेता दीपकराज गिरीको तस्वीर पोस्ट गर्दै उनले ‘झ्यानाकुटी २’ आउने संकेत दिएका हुन् । हुन त आगामी शुक्रबार रिलिज हुन लागेको ‘छक्कापञ्जा ४’ प्रचारका लागि सुनुवारले उक्त पोस्ट गरेका थिए तर उनले सोही सन्दर्भमा ‘झ्यानाकुटी’को प्रसंग उप्काए ।
अनलाइनखबरले निर्देशक सुनुवारसँग यसबारे जिज्ञासा राखेको थियो । जवाफमा उनले दर्शकले सिक्वेलको तीव्र माग गरिरहेकाले आफूहरुले दोस्रो श्रृंखला बनाउनेबारे तयारी गरिरहेको बताए । ‘यसको गृहकार्यमा हामी छौं । दर्शकको उच्च मागपछि हामीले तयारी थालेका छौं । जतिसक्दो चाँडो झ्यानाकुटी २ दर्शकमाझ ल्याउन हामी जुट्नेछौं,’ सुनुवारले भने ।
दीपकराज गिरी र दीपाश्री निरौला तयार भए फिल्ममा कास्ट गर्न इच्छुक रहेको समेत सिमोसले बताए । ‘झ्यानाकुटी’को पहिलो भागमा सौगात मल्ल र बेनिशा शीर्ष भूमिकामा थिए जसलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । भारद्वाज पनि सिक्वेलका लागि जुटिरहेका छन् ।