काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले याक ब्रुअरी कम्पनीद्वारा उत्पादित बाह्रसिंगे ब्राण्डको बियरलाई कारबाही गरेको छ ।
विभागबाट खटिएका कर्मचारीले फागुन २ गते काठमाडौंको धुम्बाराहीस्थित तीन वटा गोदाममा छापापारेर सिल गरेको हो ।
विभागका निर्देशक तथा प्रवक्ता होमनाथ भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उपभोग्य अवधी सकिएका करीव २१ सय कार्टुन बाह्रसिंगे ब्राण्डका बियर नियन्त्रणमा लिइएको छ । सो बियर कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
‘याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर काठमाडौं महानगरपालिका ४ धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ् प्रा.लि.को ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेलापारि आवश्यक कारबाहीका लागि सिलवन्दी गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ता भट्टराईले भनेका छन्, ‘दुई आकार (६५० मि.लि. र ३३० मि.लि.)को बोतलमा रहेका उल्लेखित परिमाणको बियरको बजार मूल्य करीव ६० लाखभन्दा बढि पर्ने देखिएको छ ।’
विभागले भनेको छ, ‘विशेषगरि भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधी सकिएका गुणस्तरहीन बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुन सक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता, डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षण कार्यलाई यस विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको छ ।’
‘आम उपभोक्ताहरूले समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनुहुन र कहिँ कतै त्यसरी बिक्री वितरण गरिएको थाहा हुन आएमा यस विभागको टोल फ्रि नं. ११३७ वा अनलाईन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नुहुन विभागले हार्दिक अनुरोध गर्दछ’, प्रवक्ता भट्टराईले भनेका छन् ।