काठमाडौँ । रोजगारीका लागि युरोपेली मुलुक स्पेन पठाउने भनेर एक व्यक्तिले जनही औसतमा १० लाख रुपैयाँ असूली गरे । १० लाख रुपैयाँ दिएपछि स्पेनमा काम पाइन्छ भनेर विश्वास गर्नेहरुको सोझोपन वा मुर्खता, उनीहरुले पैशा दिए ।
तर रकम लिएपछि ती ठग अहिले सम्पर्कविहीन भएका छन् । बल्लतल्ल सम्पर्कमा ल्याउँदा पनि जो चोर उसैको ठूलो स्वर भने झै पीडितलाई उल्टै धम्क्याउँदा रहेछन् । ठगीको आरोप लागेका व्यक्ति हुन्, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ दोङगाउँका– पदम दोङ ।
वैदेशिक रोजगारीका लागि स्पेन पठाउछु भन्दै यी व्यक्तिले यूवाहरुलाई ठगि गरको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै काभ्रे र रसुवाका झण्डै १० जना यूवाबाट ठूलो रकम असुली गरेर दोङ अहिले फरार भएका छन् ।
स्पेन पठाउने भन्दै दोङले काभ्रेका सुमन श्रेष्ठसँग ९ लाख, राम भक्त तिमिल्सीना ९ लाख, राजु लामा ९ लाख, अरुण तामाङ १० लाख ५० हजार, प्रविन श्रेष्ठ ९ लाख, रितेश तामाङ र अनिल तामाङ १३ लाख र रसुवाका शंशाक पौडेलसँग ९ लाख रुपैया ठगि गरेको प्रमाण नै फेला परेको छ ।
पीडितहरुले ठगिएको चालै पाएनन् : एजेण्ट दोङले स्पेनको हिलटन मेडरिट एयरपोर्टको होलटमा वेटर, सेक्युरिटी गार्ड र रुम बोईको कामका लागि पठाउने आश्वासन दिएका थिए । उनले पीडितहरुको हातमा अफर लेटर, टिकट र भिसा पनि थमाए । भिसा र भदौ ५ गतेको टिकट हातमा परेपछि पीडितहरुले स्पेन उड्न सबै तयारी पुरा गरेका थिए । घर परिवारबाट विदा भएर काठमाडौँ समेत आइसकेको थिए । तर, उड्ने बेला थाहा भयो उनीहरुको हातमा थमाइएका ती सबै नक्कली रहेछन् ।
नक्कली टिकट र नक्कली भिसा देखाएर दोङले फसाउँन खोज्दैछ भन्ने पीडितहरुले कल्पनै गरेका थिएनन् । स्पेन जान पाए भविष्य राम्रो हुने ठानेर उनीहरुले दोङलाई विश्वास गरेका थिए । तर दोङले उनीहरुको विश्वासमा कुठाराघात गरिदिए । यस्तो विश्वासघातपछि बैंक र सहकारीबाट ऋण लिएर विदेशीने तरखरमा रहेका यूवाहरुको विल्लीवाठ भएको छ ।
उल्टै सिध्याइदिने धम्की : दोङले ब्लु स्काई एजुकेशन कन्सलटेन्सीबाट स्पेन पठाउने भनेको थिए । उनले कन्सलटेन्सीको कार्यालय जावालाखेलमा रहेको बताएका थिए । तर, जावालाखेलमा कन्सलटेन्सीको कार्यालय नै नरहेको पीडितहरु बताउँछन् ।
पीडितहरुबाट लाखौँ असुलेर दोङ ६ महिनादेखि फरार छन् । अहिले उनी कहाँ छन् ? के गर्दैछन् अत्तोपत्तो छैन् । तर केही दिन अघि वाट्सएप माफर्त सम्पर्कमा आएका उनले उल्टै पीडितहरुलाई मार्छु, सिध्याइदिन्छु भन्दै धम्कीपूर्ण सन्देश पठाएका छन् ।
यो ठगी धन्दामा दोङ एल्लै छैनन् । उनीसँगै आरसी पौडेल र सुमन सिंह ठकुरी पनि रहेको पीडितहरु बताउछन् । उनीहरु सबै विगत ६ महिनादेखि फरार छन् ।
यसबीच रसुवाका शशांक पौडेलका बुवा बासुदेव पौडेललाई भने दोङले ८ लाखको चेक दिएका छन् । तर खातामा पैसा छैन । बासुदेवले अहिले उक्त चेक बाउन्स गरेका छन् । पीडितहरुले वैदेशिक रोजगारी विभागमा उजुरी समेत दिएका छन् ।