काठमाडौं । आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका परिवारले बीमा बापतको ५० लाख रुपैयाँ पाउने भएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको झापा बिर्तामोड शाखाबाट आचार्यले बीमा गरेका थिए । २०७७ सालमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका आचार्यको परिवारलाई कम्पनीले बीमा दाबी भुक्तानी दिने भएको हो ।
कम्पनीका अनुसार आचार्यले पोलीसी खरिद गरेर दुई किस्ता बीमाशुल्क समेत भुक्तानी गरेका थिए । बीमा पोलिसी किनेको दुई वर्षभित्र बिमितले दाबी भुक्तानी नपाउने व्यवस्था छ । तर, आचार्यले खरिद गरेको बीमा पोलिसी तीन वर्ष पुगिसकेकोले प्रक्रिया पुर्याएर आए परिवारलाई दाबी भुक्तानी गरिने कम्पनीको भनाई छ ।
बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरु जसले बीमा गर्दिन भन्दाभन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख असुलेको उनले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेका थिए ।
उनले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपालका बिमा कम्पनिहरु कति लुटाहा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइरहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insurance मेरो पैसा फिर्ता गर बिनासर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिकलाइ ?’