सल्यान — सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृत्यु भएको हो ।
सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए । पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्याउन नसकेको उनले जानकारी दिए ।
झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको उनले उनले जानकारी गराए । ‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०/२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो । अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषण गरिदिए ।’
मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने नदेखिएको उनको भनाइ छ ।
चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मी प्रमुख वासुदेव पोखरेलले बताए ।