काभ्रे : काभ्रेपलाञ्चोक जिल्लामा जग्गाको कित्ताकाट खुल्ने भएको छ । आज जिल्ला मातपोत कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै माघ २ गतेदेखि जग्गाको कित्ताकाट खुल्ने जनाएको हो ।
भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भईसकेका स्थानीय तहहरुबाट आएका भू उपयोग परिषद्को निर्णय अनुसार सबै कित्ता जग्गाको जग्गा धनि श्रेस्ता/ पूर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकोले अनिवार्य रुपमा मिति २०७९ साल माघ २ गतेबाट खुल्ला गरिने मालपोत कार्यालयले जनाएको छ ।
लिखत रजिष्ट्रेशन पास बैक तथा वित्तीय संस्थाहरुको रोक्का, नामसारी दाखा लगायत अन्य निवेदन सम्बन्धि सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरुबाट सिफारिस आए पश्चात मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ । मालपोत अधिकृत गंगा प्रसाद पोख्ररेलका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ । यी दुई पालिकामा जग्गा वर्गीकरण मिलेकाले कित्ताकाट खुल्ला गरिएको हो ।
मालपोत कार्यालयले काभ्रेपलाञ्चोकका जग्गा वर्गीकरण सकाएका स्थानीय तहलाई पत्र समेत पठाएको छ । घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको छ ।
काभ्रेमा धुलिखेल र बनेपा नगरपालिका तथा चौरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए । चौरीदेउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएको पुनः वर्गीकरणका लागि पठाइएको छ ।
अन्य पालिकाबाट भने अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन मालपोत कार्यालयमा नपरेको मालपोत अधिकृत पोख्ररेलले बताउनुभयो । ‘जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाउन लागिएको हो ।
खानीखोला र चौरीदेउराली गाउँपालिकालाई पुनः वर्गीकरण गर्न भनेका छौँ । अन्य पालिकाबाट अहिलेसम्म वर्गीकरण भएको पत्र आएको छैन् । वर्गीकरण भएर आउने बित्तिकै कित्ताकाट खुल्ने छ ।’ मालपोत अधिकृत पोख्ररेलले भन्नुभयो ।