माघ १ गतेदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्नेभएको छ । नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेका छन् । एसोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैङ्कको निर्देशिका बमोजिम ब्याजदर घटाउने निर्णय गरिएको छ । राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न सक्छन् । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने जनाएका छन् ।
एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने सहमति गरेसँगै बैङ्किङको पाँच हजार ३११ अर्बको कुल निक्षेपमा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्काल घटन् छ । यसले १२५ करोड रुपैयाँ मासिक ब्याज खर्च घटाउने छ । कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्छ ।
यसले गर्दा बैङ्किङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने बैंकका पदाधिकारीले जनाएका छन् । एनएमबी बैङ्कका सीईओ सुनील केसीले बैङ्कर्स एसोसिएसनको अध्यक्ष चुनिएलगत्तै माघदेखि ब्याजदर घटाउने निर्णय गरेको थियो ।