काठमाडौँ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न माग गरिएकाे हाे ।
जिल्ला सरकारी वकिलको कार्यालयले भन्याे,’एनआईजी एसिया बैङ्कमा रहेको खाताकाे रकम र उनको नाममा रहेको अचल सम्पति रोक्का गर्न माग गरिएको छ।’
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैङ्क खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताउनुभयाे ।
जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैङ्क खाता र जग्गा रोक्का गर्ने चलन रहेको छ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद छ ।
अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिएकाे छ ।
लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।
जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।