काठमाडौं । यसपटकको खण्डग्रास सूर्य ग्रहणको अवधि सुरु भएको छ । यतिबेला नेपालभर सुर्यग्रहण लागिरहेको छ । आज साँझ ४ बजेर ४७ मिनेटमा नेपालमा सुर्यग्रहण लागिरहेको छ । नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५२ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।
नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम(दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ।नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ। सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ। सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ। पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।
चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन्। सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन। यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ। साथै एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन।