काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ।
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए। खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ। मैदानी भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ।
शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। ग्रहण विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न आग्रह गरे। ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। यसैबीच, यही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण पनि लाग्दैछ। कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ।